२४ साउन, काठमाडौ । सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म जापानको आइची नागोयामा हुने २०औं एसियन गेम्समा नेपालबाट २२ खेलमा १३६ खेलाडी सहभागी हुँदैछन् । जसमा पुरुषतर्फ ८० र महिलातर्फ ५६ खेलाडी छन् ।
२०औं एसियन गेम्समा नेपालबाट आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन, बक्सिङ, क्रिकेट, साइकलिङ, गल्फ, कबड्डी, कराते, जुडो, स्क्वास, स्वीमिङ, टेबलटेनिस, टेनिस, सफ्ट टेनिस, कुस्ती, क्यानोइ स्लालोम, डान्स एन्ड स्पोर्ट्स, स्केटबोर्ड, तेक्वान्दो, भलिबल, उसु छन् ।
टिम गेमअन्तर्गत कबड्डी (महिला र पुरुष), भलिबल (महिला) र क्रिकेट (पुरुष) मात्र समावेश छ भने व्यक्तिगततर्फ १९ खेल छन् ।
नेपालबाट २०औं एसियन गेम्समा खेलाडी, प्रशिक्षक, व्यवस्थापक र सेफ दि मिसिन, डेपुटी सेभ दि मिसन, मेडिकल टिम लगायत गरेर कूल २१७ जना सहभागी हुने राखेप स्रोतले जनाएको छ ।
जसमा १३६ खेलाडी, ३२ प्रशिक्षक, २० व्यवस्थापक छन् । यस्तै एक जना सेभ दि मिसन हुनेछन् भने एक जना डेपुटी सेभ दि मिसन रहनेछन् । बाँकी २७ जनामा मेडिकल टिम, नेपाल ओलम्पिक कमिटीका पदाधिकारी, मिडिया टिम लगायत व्यक्ति हुनेछन् ।
खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी १८८ नाम सार्वजनिक भइसकेको छ । यस्तै सेभ दि मिसनमा राखेप सदस्य सचिव रामचरित्र मेहता र डेपुटी सेफ दि मिसनमा नेपाल ओलम्पिक कमिटीका कोषाध्यक्ष तथा नेपाल गल्फ संघका अध्यक्ष टासी घले छन् । २७ जनाको नाम भने सार्वजनिक भएको छैन ।

कबड्डीको दुई टोली, उसुमा ११ खेलाडी
खेल अनुसारको खेलाडी संख्यामा टिमतर्फ कबड्डीमा सर्वाधिक २४ खेलाडी छन् । कबड्डीमा पुरुष र महिला दुबै टिममा गरेर सर्वाधिक २४ जना खेलाडी छन् । त्यस्तै पुरुष क्रिकेटमा १५ र महिला भलिबलमा १२ जना खेलाडी छन् ।
यस्तै व्यक्तिगत खेलतर्फ उसुमा सबैभन्दा धेरै ११ खेलाडी सहभागी हुनेछन् भने डान्स स्पोर्टमा सबैभन्दा कम १ खेलाडी मात्र छन् । यस्तै साइक्लिङ, आर्चरी र स्क्वासमा एक पुरुष र एक महिला गरी दुई-दुई खेलाडी समावेश छन् भने क्यानोई, स्केडबोर्ड र तेक्वान्दोमा पुरुषतर्फ दुई खेलाडी मात्र सहभागी छन् ।
आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन, बक्सिङ, साइकलिङ, गल्फ, जुडो, कबड्डी, कराते, सफ्ट टेनिस, स्क्वास, स्वीमिङ, टेबल टेनिस, टेनिस, कुस्ती, उसुतर्फ नेपालबाट पुरुष र महिला दुवै खेलाडी सहभागी हुनेछन् ।
यसैगरी भलिबलमा नेपालको महिला टिमले मात्र सहभागिता जनाउनेछ भने क्यानोइ स्लालोम, क्रिकेट, डान्स एन्ड स्पोर्ट्स, स्केटबोर्ड र तेक्वान्दोमा पुरुष खेलाडीले मात्र सहभागिता जनाउनेछन् ।
कुन खेलमा कति खेलाडी ?

नेपालबाट आर्चरीमा समान १ पुरुष र महिला, एथलेटिक्समा ४ पुरुष र २ महिला, ब्याडमिन्टनमा समान २ पुरुष र महिला, बक्सिङमा ४ पुरुष र ३ महिला, क्यानोइमा २ पुरुष, क्रिकेट (पुरुष) मा १५, साइक्लिङमा समान १ पुरुष र महिला तथा डान्स एन्ड स्पोर्ट्समा १ पुरुष खेलाडी सहभागी हुने छन् ।
त्यस्तै गल्फमा ३ पुरुष र १ महिला, जुडोमा समान ३ पुरुष र महिला, कबड्डीमा २४ (१२ पुरुष, १२ महिला), करातेमा ३ पुरुष र ५ महिला, स्केटबोर्डमा २ पुरुष, सफ्ट टेनिसमा ३ पुरुष र १ महिला, स्क्वासमा समान १ पुरुष र महिला, पौडीमा ३ पुरुष र २ महिला, टेबलटेनिसमा समान ३ पुरुष र महिला, तेक्वान्दोमा २ पुरुष, टेनिसमा ३ पुरुष र २ महिला, भलिबल (महिला)मा १२, कुस्तीमा ४ पुरुष र २ महिला तथा उसुमा ८ पुरुष र ३ महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
यी हुन् २०औं एसियन गेम्स खेल्ने नेपाली खेलाडी:




