Homeसमाचारमोरङ कांग्रेस सभापतिका लागि चुनावी सरगर्मी बढ्दै, को को छन् प्रतिस्पर्धी ?

मोरङ कांग्रेस सभापतिका लागि चुनावी सरगर्मी बढ्दै, को को छन् प्रतिस्पर्धी ?

नेपाली कांग्रेस मोरङको १५औँ जिल्ला अधिवेशनबाट नयाँ जिल्ला सभापतिको नेतृत्वका लागि आन्तरिक प्रतिस्पर्धा तीव्र बन्दै गएको छ।
पार्टीको नयाँ नेतृत्व चयन हुने भएकाले मोरङ कांग्रेसभित्र विभिन्न नेताहरूले सभापति पदमा आफ्नो दाबी प्रस्तुत गर्न थालेका हुन्।
यसपटक सभापतिको आकांक्षीका रूपमा पूर्व जिल्ला सहसचिव तथा नेपाल विद्यार्थी संघ मोरङका पूर्व जिल्ला अध्यक्ष ज्ञानेन्द्र ढकाल, १४औँ महाधिवेशनमा पहिलो चरणको निर्वाचनबाट बाहिरिएका यदुकुमार विष्ट, १४औँ महाधिवेशनमा दोस्रो चरणसम्म पुगेर उपविजेता बनेका  दिलिपकुमार गच्छदार, वर्तमान जिल्ला सचिव ललितबहादुर श्रेष्ठले पनि सभापतिको दाबी प्रस्तुत गरेका छन् । त्यस्तै कोशी प्रदेश सभाका पूर्व सांसद सुयर्माराज राई पनि सभापतिको दौडमा छन् ।
पार्टीको विशेष महाधिवेशनको पक्षमा सुरुदेखि नै खुलेर लागेका विष्ट र राईको भूमिकालाई पछिल्लो समय कांग्रेसभित्रको नयाँ राजनीतिक समीकरणसँग जोडेर समेत हेरिएको छ।
विशेष महाधिवेशनको अभियानमा श्रेष्ठ र गच्छदार पछिल्लो समय जोडिएको  चर्चा भए पनि पाँचै जना आकांक्षी अहिले आफ्नै राजनीतिक आधार र संगठनात्मक सम्पर्क विस्तारमा केन्द्रित  छन् । क्षेत्रीय प्रतिनिधि तथा क्रियाशील कार्यकर्तासँग भेटघाट गर्दै समर्थन जुटाउने प्रयासले मोरङ कांग्रेसभित्र अधिवेशनको माहोललाई थप तातेको छ।
नेपाली कांग्रेसको विधानअनुसार जिल्ला सभापति निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्ने व्यवस्था छ। पाँच जना उम्मेदवारबीच प्रतिस्पर्धा भए पहिलो चरणमा कसैले पनि आवश्यक बहुमत प्राप्त गर्न नसकेमा शीर्ष दुई उम्मेदवारबीच दोस्रो चरणको निर्वाचन हुनेछ । अधिवेशन नजिकिँदै जाँदा ढकालसहित विष्ट, गच्छदार, श्रेष्ठ र राई आ–आफ्नो पक्षमा प्रतिनिधि र कार्यकर्ता जुटाउन सक्रिय रहेकाले मोरङ कांग्रेसको जिल्ला नेतृत्व चयन थप प्रतिस्पर्धात्मक बन्ने देखिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments