लेटाङ नगरपालिका–९ जाँतेस्थित श्री वसन्त हरियाली सामुदायिक वन उपभोक्ता समूहको २४औँ वार्षिक साधारण सभा तथा ७औँ अधिवेशन सम्पन्न भएको छ।

‘हामी नरहे पनि वन रहन्छ, तर वन नरहे हामी रहन सक्दैनौँ’ भन्ने नारासहित आयोजित सभामा वन संरक्षण, दिगो व्यवस्थापन र उपभोक्ताको हितका विषयमा छलफल गरिएको थियो। कार्यक्रम संस्थाका अध्यक्ष होमनाथ सुवेदीको अध्यक्षता तथा लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौलाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
कार्यक्रममा लेटाङ–९ का वडाध्यक्ष नन्दी केशर खतिवडा, सब डिभिजन वन कार्यालय जाँतेका प्रमुख राजेश घिमिरे, सब डिभिजन वन कार्यालय लेटाङका प्रमुख आविष्कार भट्टराई, अस्थायी प्रहरी चौकी जाँतेका प्रतिनिधि, विभिन्न सामुदायिक वनका अध्यक्ष तथा प्रतिनिधि, वन अभियन्ता, उपभोक्ता र संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो। सभामा अध्यक्ष सुवेदीले वार्षिक प्रगति प्रतिवेदन तथा आगामी नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने सहसचिव बिमल लिम्बूले स्वागत मन्तव्य राख्नुभएको थियो। कोपिला सामुदायिक वनका अध्यक्ष भवानी लिम्बूले वन संरक्षण तथा व्यवस्थापनमा उपभोक्ताको सक्रिय भूमिका आवश्यक रहेको बताउनुभयो।
यसै अवसरमा सामुदायिक वनको संरक्षण तथा व्यवस्थापनमा योगदान पुर्याएका पूर्व कार्यसमिति सदस्य तथा ज्येष्ठ नागरिक शिवप्रसाद निरौला, अग्नि पौडेल र सुकबहादुर लिम्बूलाई संस्थाले सम्मान गरेको छ। अधिवेशनमा वन संरक्षणसँगै स्रोत–साधनको दिगो उपयोग, उपभोक्ताको सहभागिता वृद्धि र सामुदायिक विकासमा वनको भूमिकालाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो। संस्थाले आगामी दिनमा वन संरक्षण तथा व्यवस्थापनलाई प्राथमिकता दिँदै सामुदायिक वनबाट प्राप्त स्रोतलाई उपभोक्ता र समुदायको हितमा परिचालन गर्ने जनाएको छ।




