मोरङको बेलबारी–३ स्थित भगवती माध्यमिक विद्यालयका विद्यार्थीहरूले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित परिवारका लागि रु. १६ हजार ५ सय ९५ सहयोग गरेका छन्।
वि.सं. २०८३ भदौ १० गते आएको बाढीका कारण ज्यान गुमाएका सम्पूर्णप्रति श्रद्धाञ्जली अर्पण गर्दै विद्यालयका विद्यार्थीहरूले सहयोग रकम संकलन गरेका हुन्। भगवती विद्यार्थी व्यवस्थापन समूह तथा बाल क्लबको समन्वयमा विद्यार्थीहरूको खाजा खर्चबाट केही रकम कटाएर सहयोग संकलन गरिएको विद्यालयले जनाएको छ।
विद्यार्थीहरूको सानो–सानो योगदानबाट जम्मा भएको रु. सोह्र हजार पाँच सय पन्चानब्बे रुपैया रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।
दुःख र विपद्को समयमा विद्यार्थीहरूले देखाएको मानवीय संवेदना, एकता र सहयोगी भावना प्रशंसनीय रहेको विद्यालयले जनाएको छ। विद्यालयले विद्यार्थीहरूको यस प्रयासले विपद्मा परेका नागरिकप्रति सहयोग र सामाजिक उत्तरदायित्वको भावना थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ।




